यस वर्षको MAMF महोत्सवमा नेपालको तर्फबाट युवा तथा चर्चित गायिका ‘बबिना किराती’ ले आफ्नो सांगीतिक प्रस्तुति दिने भएकी छन्।
दक्षिण कोरिया । दक्षिण कोरियाको छाङ्वन सहरमा हरेक वर्ष आयोजना हुँदै आएको दक्षिण कोरियाको सबैभन्दा ठूलो बहुसांस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट अरिराङ मल्टिकल्चरल फेस्टिभल (MAMF–마맙)’ यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ।
आयोजकका अनुसार आगामी अक्टोबर २३, २४ र २५ तारिख (२०२६) मा छाङ्वनमा हुने यस महोत्सवमा नेपालसहित चीन, जापान, म्यानमार, मंगोलिया, भियतनाम, थाइल्यान्ड, उज्बेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन्स, श्रीलंका, बंगलादेश, इन्डोनेसिया र दक्षिण कोरिया लगायत १६ देशको सहभागिता रहनेछ।
तीन दिनसम्म विविध सांस्कृतिक कार्यक्रम
छाङ्वनको यङजी पार्क क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न देशका सांस्कृतिक प्रस्तुति, एसियाली संगीत कन्सर्ट, ग्लोबल माइग्रेन्ट डान्स, कला प्रदर्शनी तथा विभिन्न मुलुकका परम्परागत सामग्री र परिकारका स्टलहरू राखिने आयोजकले जनाएको छ।
महोत्सवले कोरियामा रहेका विभिन्न देशका आप्रवासी समुदायबीच सांस्कृतिक आदान–प्रदान, मित्रता र आपसी सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
नेपाली कलाकारहरूको विशेष प्रस्तुति
यस वर्षको MAMF महोत्सवमा नेपालको तर्फबाट युवा तथा चर्चित गायिका ‘बबिना किराती’ ले आफ्नो सांगीतिक प्रस्तुति दिने भएकी छन्।
त्यस्तै स्थानीय कलाकारहरू सुन्दर धलान, बिमता लिम्बू, सुरेन्द्र बस्नेत, उदिप कार्की (चाली), पेमा लामा, प्रकाश गिरी र प्रलाप राई लगायतका कलाकारहरूको समेत विशेष प्रस्तुति रहनेछ।
नेपाली संस्कृति झल्काउने विशेष कार्यक्रम
महोत्सवको अन्तिम दिन आइतबार आयोजना हुने मुख्य कार्यक्रम ‘판무노 페레’ (बहुसांस्कृतिक जुली) मा नेपालको विविध जातीय तथा सांस्कृतिक पहिचानलाई समेट्दै मगर समुदायको कौराहा सालैजो नृत्य प्रस्तुत गरिनेछ।
यसै अवसरमा माइग्रेन्ट अरिराङ प्रस्तुति समूह ‘पेवाल्जा’ तथा NCB Nepali Students’ को विशेष सामूहिक नृत्य प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।
हजारौँ दर्शकको सहभागिता अपेक्षा
छाङ्वन नेपाली समाजका अध्यक्ष रवि खवासका अनुसार यस वर्षको महोत्सवमा ५० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। साथै, दक्षिण कोरियाको MBC टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने यस विशाल महोत्सवमा नेपालले निरन्तर रूपमा उत्साहजनक र उल्लेखनीय सहभागिता जनाउँदै आएको उनले बताएका छन्।
अध्यक्ष खवासले भनेका छन्, “विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि हामी प्रवासी नेपालीहरू एकजुट भई देश नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति, भेषभूषा, संस्कार र परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने प्रयासमा जुटेका छौँ।”
नेपाली समुदायका लागि महत्वपूर्ण अवसर
महोत्सवमा सहभागी हुने विभिन्न देशका राजदूत तथा उच्च निकायका व्यक्तिहरूको उपस्थितिले कोरियामा रहेका आप्रवासी समुदायबीचको सांस्कृतिक आदान–प्रदान र भाइचारा अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
नेपाली समुदायले पनि यस्ता अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममार्फत नेपालको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा र परम्परालाई विश्वसामु चिनाउने महत्वपूर्ण अवसर प्राप्त गर्दै आएको छ।
नेपालको संस्कृति, नेपाली कला र पहिचानलाई कोरियाको बहुसांस्कृतिक मञ्चमा प्रस्तुत गर्ने यो कार्यक्रम नेपाली समुदायका लागि विशेष महत्वको रहनेछ।

No comments:
Post a Comment